सामाजिक सञ्जालको राग

Aakar Anil
Aakar Post
Published in
4 min readDec 25, 2016

--

इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो — सबै तिरबाट बारेको “देसी बाबा डट कम” (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो।

संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल। इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्टीको उदय, भूकम्प र मधेस आन्दोलनले संजालको शक्तिको महसुस गरायो भने यसै बिच अरब स्प्रिंग, लन्डन रायोटले संजालको उपयोग वा दुरुपयोग हुन सक्ने कुराहरु उजागर भयो।

इन्टरनेटको नक्सामा स्मार्टफोनको उदय सँगै “बिचार र बहसको” दृष्टिकोणबाट सामाजिक संजाल पुरै फेरिएकोछ। सामाजिक संजालको आशक्तिले इन्टरनेट र यस भित्रका असीमित सम्भावनाहरू सीमित भएको छ भने हामी भेडो, लहडी र बकमफुसेमा परिणत हुँदैछौ। डेस्कटपमा जस्तो मोबाइलमा फ्याट्ट खोजि गर्न वा दिइएका लिंकहरू पढ्न सजिलो छैन, महँगो पनि छ। नबुझी, नसोची, नहेरी, रिट्विट, सेयर, लाइक, कमेन्ट गर्छन् धेरै! त्यसैको फाइदा उठाउँदै रोमान्चक शब्दहरु शीर्षकमा राखेर असामाजिक तत्वहरु भ्रम छर्न सफल भएका छन्। मूलाधारे पत्रकाहरुले पनि बेला बेला यस्ता यस्ता स्टन्ट गर्ने हुँदा झुटको खेती गर्नेलाई बल पुगेको छ।

इन्टरनेट त धान र भुस भरिएको भकारी हो, धान झिक्ने कि भुस त आफैँले हेर्ने हो। तर त्यो भन्दा खतरनाक फेसबुक, ट्विटर जस्ता सामाजिक संजालले हामीलाई वैचारिक चरमता तिर धकेलेकोछ। अधिकांश भिन्न विचार भएकाहरूलाई हामी हटाउँछौ र मिल्ने विचार भएकालाई रोज्छौँ, वैचारिक होमोजेनीटिको तयार गर्छौ। अनि फरक विचार यसै त कटौती भै सक्छ त्यसमाथि फेसबुक जस्ता सामाजिक संजालले त्यसैको आधारमा हामीलाई सामग्री प्रस्तुत गर्छ। अब यिनै सामाजिक संजाल नै हाम्रो सूचना, समाचारको स्रोत भयो भने हामी फरक विचारबाट धेरै टाढा पुग्छौँ र वैचारिक चरमता तिर धकेलिन्छौँ। त्यसैले अहिले हाम्रा विचारहरू ध्रुविकरण भएका छन्, बहसहरू तल्लो स्तरको घिनलाग्दो आरोप प्रत्यारोपमा सीमित भएको छ।

ट्विटर त झन् स्वतन्त्र विचार लेख्ने ठाउँ हो, आफूलाई मनमा लागेको लेख्न पक्कै छुट हुनुपर्छ, तर जिम्मेवार हुनु पर्ने मान्छेहरू नै अतिवादी, जातिवाद, रंगभेदी, भड्काउ अभिव्यक्ति दिन्छन् भने क्षमायाचना गर्न बाध्य पारिनुपर्छ, उसको कार्यलय/संघ/संस्थाले स्पष्टिकरण दिनु पर्छ, उनीहरुलाई बहिस्कार गर्नु पर्छ, उस्तै परे सामान्य सजाय पनि दिनु पर्छ नत्र मलाई डर छ, हामी अराजकता तिर जानेछौँ ।

एक जना सरले भनेका थिए “शब्दहरु आफैमा जीवित हुँदैनन्, तर जब शब्दहरु बोलिन्छन् ति जीवित हुन थाल्छन्”। छेडछाड, व्यंग, आरोप, रिस, आवेग, प्रति प्रश्न मात्र व्यक्त गरेर के चाहिँ जीवित होला? त्यस माथि यहाँ सत्य र असत्यको मतलब हुँदैन। झूटो समाचार र हुइँयाहरूको जग जगी छ। भ्रमित समाचारहरू आगो सरि फैलिन्छ। सत्यको खुलासा त हुन्छ तर झुट स्थापित भै सकेपछि! यस्तै हो भने प्रोपगाण्डाले मात्र भरिन्छ हाम्रो मगज, पाकिस्तानीले अमेरिकालाई देखे जस्तो, अमेरिकाले हिलारी देखे जस्तो, नेपालीले भारत देखे जस्तो?

सामाजिक संजालको चरित्र नै हो कि यो संधै रोमाञ्चक हुन चाहन्छ, सामग्रीहरु भाइरल हुनुमा र विचार तरंगित हुनुमा नै त्यसको भलाई छ। इन्टरनेटमा दाम वा नाम कमाउने धन्दा गर्नेहरुको लागि, राजनीतिक अभिष्ट पुरा गर्न खोज्ने, सद्भाव वा शान्तीमा खलल पुर्‍याउन खोज्ने आदिका लागि यो औजार पनि हो। ट्रंपको जितले यो कुरा अझै बाहिर आएको छ। तर धेरैको लागि यो रोमान्चकता, अनुत्पादक, भ्रमित र विभाजनमुखी हुन्छ। सामान्य मान्छे नै पनि लाखौँ फलोअर भए पछि शक्तिशाली हुन्छ, त्यसैले उ आफ्नो अभिव्यक्तिले सम्पूर्ण सामाजिक संजाल एकतातिर धकेलिन सक्छ भनेर सचेत हुनुपर्छ। तर रिट्विट हुन सक्ने शब्दहरुको चयन गर्दा गर्दै वा आवेगमा फलाकेका बिचारहरूको कारण नैतिकता, सत्यता, जिम्मेवारीले नराम्रोसँग माटो खान्छ। त्यसलाई शक्ति दुरुपयोग भन्ने कि नभन्ने? ओबामाले एक पत्रकारको घोचक प्रश्नको उत्तर दिंदा भनेका थिए “It took me couple of days (to speak in public) because I like to know what I am talking about”

हामीले चेतमा आउनु पर्ने छ, जागरुक हुनुपर्ने छ, सृजनात्मक हुनु पर्ने छ, आउट अफ बक्स सोच्नु पर्ने छ, त्यसैले बोल्नु पर्ने छ तर यो सामाजिक संजालको छद्म महत्वकाँक्षालाई काँध हालेर गलत प्रवृतिमा जाना-जान फसिरहन चाहिं घातक हुनेछ। यो जिम्मेवारीको विणा सामजिक संजालमा लाखौँ फलोअर हुनेहरुले उठाउनुपर्छ। उनीहरुको सकारात्मक आवाजहरुले संजाललाई सकारात्मकता तिर धकेल्छ, म त भन्छु सम्पूर्ण देशलाई सकरात्मकता तिर धकेलने मद्दत गर्नेछ। सबै सामाजिक संजालमा पनि हामी व्यक्तिगत जीवनमा जस्तै जिम्मेवार हुनु पर्छ! सकारात्मकता त आफैँमा अभ्यास हो।

त्यसो त जब सम्म संजालमा उठ्ने विचारहरूले मूर्त रूप लिन सक्दैन यहाँबाट समाज फेरिन्न, यहाँबाट नेता फेरिन्न, यहाँ बसेर विचार फेरिन्न, यहाँ कराएर अवस्था फेरिन्न। त्यसको उल्टो गलत विचार र नकारात्मकताहरूले मूर्त रुप लिन थाले के होला हाम्रो भविष्य? यो संजालको राग धेरैलाई महँगो परेको छ हामी पालो कुरी बस्नु गलत हुनेछ।

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा ‘असामाजिक’ पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal फलो गर्न सकिन्छ।​

पहिलो पटक आकार पोष्टमा प्रकाशित

--

--