फोटो स्क्यान : पुराना फोटालाई डिजिटाइज गर्ने सजिलो एप

Aakar Anil
Aakar Post
Published in
2 min readFeb 5, 2017

--

हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो, फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रदैँ जान्छन् ।

पुराना फोटोहरु कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो नै खिचेर राख्ने गरेकाछन् । स्मार्टफोनको पहुँच बढेसँगै अधिकांशले मोबाइल क्यामेराबाट पुराना फोटोहरु खिच्ने गरेकाछन् । तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँच बाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगलले, केही महिना पहिले “फोटो स्क्यान” मोबाइल एप सार्वजनिक गरेको थियो ।

आइफोन र एन्ड्रोइडको लागि उपलब्ध फोटो स्क्यान एप चलाउन सजिलो छ, फोटो स्क्यानको फ्रेमभित्र फोटो राखेपछि, अटोमेटिक रुपमा फोटोको छेउकुना पत्ता लगाएर स्क्यानरले फोटो खिच्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि सम्पादन पनि गर्न सकिन्छ । फोटो स्क्यानको फ्रेमभित्र पर्ने गरि फोटो राखेपछि, स्क्यान बटन (क्यामेरा) थिच्नुपर्छ, फोटोमाथि चार कुनाका थोप्लो देखिन्छन् । त्यसपछि मोबाइललाई यता उता सार्दै चारवटै थोप्लोको फोटो स्क्यान भित्र पार्नुपर्छ, यसपछि डिजिटल फोटो तयार हुन्छ । तयार भएको डिजिटल फोटोलाई सेभ गर्नुपर्छ, यसरी लिइएको फोटो गुगल फोटोमा अटोमेटिक स्टोर हुन्छ । तर एउटा कुरा चैँ के जानिराखौँ भने सुरुका २-४ वटा फोटोहरु लिन झन्झटिलो लाग्नसक्छ, केही फोटोहरु स्क्यान गर्ने प्राक्टिस गरेपछि चैँ फोटो स्क्यान एप एकदमै सजिलो र छरितो लाग्छ ।

एन्ड्रोइडको लागि फोटोस्क्यान
आइफोनको लागि फोटोस्क्यान

Originally published at www.aakarpost.com.

--

--