सोसल मिडिया मिथ्याङ्क?

Aakar Anil
Aakar Post
Published in
6 min readNov 7, 2017

--

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, ‘नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?’ ‘लगभग ८५ लाख’ । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो ।

यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, ‘आहा’ भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, ‘यति धेरै फलोअर भएको मान्छेले यस्तो कुरा किन लेखिस्?’ भनेर व्यर्थको अनलाइन विवाद गरिरहेका पनि भेटिन्छन् । ट्विटर/फेसबुकका फलोअर/लाइक’का आधारमा हेर्ने हो भने, मैले एकपटक मेरो ब्लगको लिङ्क सोसल मिडियामा सेयर गरेपछि कम्तिमा २० हजारले त मेरो ब्लग पढ्नुपर्ने । तर त्यसो हुन्न । २० हजार त के, त्यसको ५० प्रतिशतले पनि हेरिदिए १० हजार हुन्थ्यो, त्यो पनि छैन । ट्विटरमा १ डेढ लाख फलोअर भएक प्रयोगकर्ताले ट्विट गर्दा त ट्विटरमै ट्रेन्डिङ हुनुपर्ने, त्यो पनि छैन । युट्युबमा ५-१० लाख सब्सक्राइबर छन्, भिडियो तुरुन्तै ट्रेन्डिङ हुनुपर्ने, त्यो पनि छैन । भिडियोमा मुस्किल’ले ३-४ हजार भ्यु हुन्छ । फेसबुकमा ८५ लाख नेपाली प्रयोगकर्ता छन्, यस हिसाबले नेपालमा अनलाइन कम्पनीहरु (ईकमर्स साइट आदि) त भयंकर चल्नुपर्ने, त्यो पनि छैन । सोसल मिडिया कै लागि भनेर व्यवसाय/कम्पनीले कर्मचारीहरु राखेका छन्, मार्केटिङ एजेन्सीहरुको सेवा लिएकाछन् तर उपलब्धि देखिन्न । गर्ने के? इन्टरनेट तथा सोसल मिडिया मार्केटिङ फिल्डमा भएका कारण होला, व्यक्ति/कम्पनीहरुका मेरा यति र उती फलोअर र लाइक भनेर घोषणा गरेको सुन्दा म छक्क पर्छु । लाइक र फलोअर चाहिन्छ, भेरिफाइड भए झनै राम्रो, यस्तो छ है भनेर चर्चा/परिचर्चा हुन्छ, फेसबुक-ट्विटरमा धेरैले लाइक/फलो गरेकाछन् भने, केही हदसम्म उक्त कम्पनी/ब्रान्ड ‘विश्वासयोग्य’ रहेछ भनेर थाहा हुन्छ तर फलो र लाइक’कै आधारमा गर्व गरेर बसियो भने चैँ चुर्लुम्म डुबिन्छ ।

एनालिटिक्सको भाषामा, यसलाई ‘भ्यानिटि मेट्रिक्स’ भनिन्छ । नयाँ स्टार्टअप, कम्पनीहरु छन् भने ‘भ्यानिटि मेट्रिक्स’ले ‘मोटिभेसन’को काम गर्छ, ल आज हाम्रो फलोअर यति पुग्यो, लाइक यति पुग्यो, ल यो यतिपटक सेयर, एक हजार रिट्विट भयो आदि । यसले काम गर्ने उर्जा प्रदान गर्छ । ट्विटरमा कतिपय ट्विटहरु, रिट्विटकै लागि लेखिएको पाइन्छ, जति धेरै रिट्विट, त्यति धेरै गर्व गर्छन्, लाइक र रिट्विट गन्दै बस्न रमाइलो नै हुन्छ । तर तपाईको सेवा/सुविधा विक्री भएन भने, साइटमा भिजिटर भएनन् भने, तपाईको व्यवसाय चल्दैन ।तपाईको लक्ष्य फेसबुकबाट १ हप्तामा ५ हजार भिजिटिर तपाईको साइटमा ल्याउने, वा हप्तामा १० वटा उत्पादन बेच्ने लक्ष्य छ भने, त्यो पुरा भयो कि भएन, के कति गर्‍यो भने त्यो लक्ष्यमा पुग्न सकिन्छ वा पार गर्न सकिन्छ भन्ने जस्ता कुराहरु चाँही ‘एक्सेनेबल मेट्रिक्स’मा पर्छन् (जुन डाटा हेरेर एक्सन लिन सकियोस्) । अत: हामीले सोसल मिडिया चलाउँदा, ‘भ्यानिटि’ लाई छोडेर ‘एक्सेनेबल मेट्रिक्स’ तिर ध्यान दिनु जरुरी हुन्छ । मलाई साथीहरुले सोसल मिडियाका बारेमा हिजोआज यस्तै गुनासाहरु धेरै गर्छन् । मेरो फेसबुक पेजमा २ लाख लाइक छ, तर सेयर गरेको पोष्ट करिब १-२ सयले देख्छन् (फेसबुक एनालिटिक्स अनुसार), मुस्किल’ले २-३ जनाले लाइक र कमेन्ट गर्छन् । युट्युबमा १ लाख सब्सक्राइबर छन् तर भिडियोमा भ्युज हुन्न । केही अपवादहरुलाई छोड्ने हो भने, अहिले फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम आदि साइटहरुमा हामीले गरेको लगानी, गलत भइरहेझैँ देखिन्छ । तर यो समस्या नेपालको मात्र होइन, सबैतिर, सबैलाई यही समस्याले सताएकोछ । पहिले हजारौँ-लाखौँसम्म पुग्ने फेसबुक पोष्टहरु अहिले केही सयमा सिमित भएकाछन् । प्रयोगकर्ता सोसल मिडियामा छन् भन्ने थाहा छ, तर लगानी अनुसार, प्रतिफल छैन । एउटै प्रयोगकर्ताका सयौँ, हजारौँ साथीहरु छन्, सयौँ हजारौँ पेजहरु लाइक गरेका हुन्छन् । फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम सबैतिर प्रतिस्पर्धा धेरै छ, अत: “अर्गेनिक रिच” (Organic Reach) (पैसा खर्च नगरी, स्वत स्फूर्त रुपमा पुग्ने) बाट सबैतिर पुग्न असम्भव नै छ । प्रयोगकर्ताको रुची र इङ्गेजमेन्ट अनुसार, अपडेट फरक फरक देखिन्छ । तपाई र मेरोमा उही साथी छन्, एकै पेजहरु लाइक गरेका छौँ भनेपनि हामीले देख्ने अपडेटहरु फरक हुन्छन् ।

पहिलो कुरा त, प्रयोगकर्ताले धेरै पेज लाइक/फलो गरेका हुन्छन्, प्रतिस्पर्धा धेरै छ । दोस्रो कुरा, ब्रान्ड/कम्पनीहरुले सँधै गुणस्तरिय ‘कन्टेन्ट’ उत्पादन गर्न सक्दैनन् । तेस्रो कुरा, फेसबुक, ट्विटर आदि सबै साइटको आम्दानीको स्रोत भनेको विज्ञापन हो । चौथो कुरा, यी साइटहरुले हप्तैपिच्छे जस्तो नयाँ फिचर ल्याउँछन्, नयाँ अपडेटहरु आउँछन् । जस्तो, एकसमय फेसबुकमा फोटो राखियो भने धेरै समक्ष पुग्न सकिन्थ्यो, अहिले फेसबुक भिडियो हुँदै, लाइभ भिडियो र स्टोरिजमा पुगेको छ । कतिपय अवस्थामा एपहरुकै कारण भनेको जस्तो ‘रिच’ हुँदैन, जस्तो कि युट्युबमा सब्सक्राइब गरेको च्यानलको भिडियो ‘होम फिड’मा बिरलै देखिन्छन् । आफूले सब्सक्राइब गरेको च्यानलको भिडियोहरु ‘सब्सक्रिप्सन’ ट्याबमा बस्छन्, प्राय: प्रयोगकर्ताले त्यो ट्याब हेर्दैनन्, किनकी प्रयोगकर्ता अल्छि हुन्छन्, जे ‘होम फिड’मा आयो त्यही हेर्छन् । अनि युट्युबले पनि प्रयोगकर्ताले जे हेर्नथाल्यो, त्यही सम्बन्धित भिडियो अगाडी देखाइदिन्छ । अर्को कुरा, आफ्ना प्रयोगकर्ताले के सम्बन्धि कुराहरु रुचाउँछन् भनेर ज्ञान नराख्नुले पनि यसमा धोका पाइन्छ ।

गर्ने के?

तपाईको सोसल मिडिया च्यानलहरुको अडिट गर्नुहोस् । लाइक, फलोअर कति छन् ? कति समय लगानी गरिरहेको छु? साइटमा ट्राफिक कति छ? कसले कहाँबाट हेर्ने गरेकाछन् ? कति प्रतिफल पाइरहेको छु? लक्ष्य पुरा भइरहेको छ? तपाईको कम्पनी अनलाइनमा जाँदैछ वा अनलाइनमा छ भने, सोसल मिडिया सहित अन्य कुराहरु पनि चुस्त, दुरुस्त हुन जरुरी छ । मानिलिउँ तपाईको एउटा फेसबुक पोष्ट भाइरल भयो, त्यसलाई हेरेर धेरै प्रयोगकर्ताहरु तपाईको साइटमा आए, साइट क्र्यास भयो । फेसबुक वा ट्विटर हेरेर तपाईको साइटमा त पुगियो, तर उक्त पेजमा यति धेरै कुरा रहेछ कि, कुन प्रायोजनका लागि तपाईको साइटमा पुगियो, के गर्न खोजिएथ्यो भन्ने कुरा नै बिर्सियो । ट्विट हेरेर समाचार पढ्न, अनलाइन पोर्टल त छिरियो तर पहिलो स्क्रिन सबै विज्ञापनले ढपक्क छोपेको छ, समाचार कहाँ नेर छ खोज्नुपर्छ, त्यसमाथि मोबाइल फ्रेन्डली पनि छैन, भद्रगोल छ । अर्कोपटक देखि म तपाईको अनलाइन किन हेर्थेँ ?

इन्टरनेट मार्केटिङ वा डिजिटल मार्केटिङमा सोसल मिडिया एउटा च्यानल मात्रै हो, सोसल मिडिया सँगै, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), ईमेल मार्केटिङ, कन्टेन्ट मार्केटिङ, ल्यान्डिङ पेज, विभिन्न पेड क्याम्पेनहरु (अनलाइन विज्ञापनहरु) आदि पर्छन् । डिजिटल मार्केटिङबाट प्रतिफल लिनको लागि आफ्ना मार्केटिङका च्यानलहरुको राम्रोसँग उपयोग गर्नु जरुरी छ । अर्को मनन गर्नुपर्ने कुरा चाँहि के हो भने, जतिसकुै मार्केटिङ गरौँ, जुनसुकै च्यानल प्रयोग गरौँ तर ‘कन्टेन्ट’ राम्रो छैन भने, धेरैले पढ्दैनन्, सेयर गर्दैनन् । यसको लागि आफ्ना प्रयोगकर्ताले कस्तो ‘कन्टेन्ट’ खोज्छन्, हाम्रा प्रयोगकर्ता को हुन् भनेर जान्न जरुरी छ । भन्नैपर्ने अर्को कुरा चाँहि के छ भने, सोसल मिडियाबाट ‘अर्गेनिक’ तवरले धेरैसामु पुग्नु, लगभग असम्भव जस्तै भइसक्यो । दशौँ लाख, लाइक भएका पेजका पोष्टमा १-२ वटा कमेन्ट आउनु, ३-४ सयले मात्रै देख्नु यसको प्रमाण हो । अत: अब सोसल मिडिया नै प्रयोग गर्ने भएपनि, सोसल मिडियामा पैसा तिरेर चलाइने क्याम्पेनहरु अलि धेरै प्रभावकारी देखिन थालेकाछन् । आफ्नो क्याम्पेनको लक्ष्य, अडियन्स, तथा मार्केटिङ सामाग्रीमा अलिकति ध्यान दिँदा व्यापारमा सुधार हुनसक्छ । हुन त यसमा पनि प्रतिस्पर्धा धेरै छ, तर यहाँ आफूले चाहे जसरी, चाहेको मान्छेसम्म पुग्न सजिलो छ ।

अत: सोसल मिडियामा लाइक र फलोअर यति हजार र लाख छन् भन्नु भन्दा पनि त्यसबाट आफूलाई, आफ्नो व्यापार, व्यवसायलाई कत्तिको प्रतिफल मिलिरहेकोछ, एकपटक समिक्षा गर्नु जरुरी छ । आफूलाई कुन च्यानल उपयुक्त हुन्छ, भन्ने कुरा जानेर चाहिएको डिजिटल च्यानलमा लगानी गर्नु लाभदायक हुन्छ । तपाईलाई यससम्बन्धि थप जान्न मन छ वा सहयोग चाहिएकोछ भने, मलाई aakar(at)aakarpost(dot)com मा ईमेल गर्नसक्नुहुन्छ, वा फेसबुक (fb.com/aakarpost), ट्विटर (@aakarpost) मा पनि सम्पर्क राख्नसक्नुहुन्छ ।

थप सन्दर्भ सामाग्री:

Use social media marketing to your advantage
Stop All Social Media Activity (Organic) | Solve For A Profitable Reality

Originally published at www.aakarpost.com.

--

--