नेपाली टाइप गर्ने सजिलो तरिका

Aakar Anil
Aakar Post
Published in
4 min readDec 25, 2016

--

मदन पुरस्कार पुस्तकालयले २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, “फेसबुकमा कसरी नेपाली टाइप गर्ने?” अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु।

प्रिती, कान्तिपुर लगायतका ‘ट्रु टाइप फन्ट’ (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही “ब, क, म, न” कै ‘फर्म्याट’मा ‘टाइप’ गर्नुपर्छ, फरक यत्ति हो कि तपाईले कम्प्युटरमा नेपाली युनिकोड ट्रेडिसनल लेआउट राखेको हुनुपर्छ (सेटिङ मिलाएको हुनुपर्छ) ।

नेपाली ट्रेडिसनलमा टाइप नै नगरेकाहरुलाई मैले सँधै मपुपुकै नेपाली रोमनाइज्ड युनिकोड किबोर्ड लेआउट सिफारिश गर्ने गरेको छु । मैले अनुभव गरेको कुरा के हो भने, अधिकांश नेपाली इन्टरनेट प्रयोगकर्ताहरु नेपालीमा टाइप गर्नुपर्यो भने, कुनै साइट वा एपमा गएर गुगल ट्रान्सलिटेरेट प्रयोग गरेर (वा प्रितीआदि फन्टमा लेखेको युनिकोडमा कन्भर्ट गरेर) नेपाली भाषामा लेख्छन्, अनि त्यसलाई ‘कपी’ गर्छन्, अनि कहाँ ‘पोस्ट’ गर्नुपर्ने हो त्यहाँ गएर ‘पेस्ट’ गर्छन् । मलाई त यो प्रक्रिया सम्झिँदै झन्झटिलो लाग्छ ।

कतिले गुगल ट्रान्सलिटेरेट (गुगल इनपुट) पनि कम्प्युटरमा राखेका हुन्छन्, तर एउटै शब्दको लागि पनि ‘अंग्रेजी स्पेलिङ’ मिलाउँदै, आफूलाई चाहिएको शब्द छान्दै राख्नुपर्छ, यसो गर्दा कहिलेकाँही त आफूले लेख्न खोजेकै शब्द पनि लेख्न सकिन्न । गुगल इनपुटकै लेआउटमा आधारित भएर नेपाली टाइप सजिलो बनाउन दर्जनौँ साइट र मोबाइल एप बनेकाछन्, तर मपुपुले तयार गरेको लेआउटका अगाडि यी सबै झन्झटिला लाग्छन् ।

नेपाली रोमनाइज्ड युनिकोड लेआउट
रोमनाइज्ड लेआउटमा अंग्रेजी अक्षरहरुको आधारमा नेपाली अक्षरहरु लेखिन्छ । भन्नको मतलब, अंग्रेजीमा बोल्दा उस्तै सुनिने अक्षरहरलाई सिधै देवनागिरीमा नेपाली अक्षरहरुलाई जोडा मिलाइएको छ, जसले गर्दा कुनै पनि नेपाली अक्षर वा शब्द रोमनाइज्ड लेआउटमा सजिलै लेख्न सकिन्छ । तपाईले नेपाली अक्षरको बनोट छुट्याउना साथ रोमनाइज्डमा खरर नेपाली लेख्न सक्नुहुन्छ ।

हामीले ‘ka’ — ‘क’, ‘kha’ — ख, भनेर पढ्ने गरेका छौँ, तर रोमनाइज्ड लेआउटमा ‘क’ लेख्नलाई ‘k’ मात्र लेखे पुग्छ भने ‘ख’ लेख्नलाई ठूलो ‘K’ ! तर यही कुरा गुगल ट्रान्सलिटेरेसनमा लेख्नुपर्दा ‘k’ र ‘kha’ नै लेख्नुपर्छ । तलका केही उदाहरणहरु हेरौँ ।

k — क
K — ख
g — ग
G — घ
, — ङ
c — च
C — छ
j — ज
J — झ
y — ञ

यी त केही उदाहरणहरु मात्र भए, प्राय: उस्तै सुनिने अक्षरको लागि एउटै ‘अंग्रेजी’ सानो र ठूलो अक्षर प्रयोग गरिन्छ । नेपाली अक्षरको बनोट (साउन्ड) अनुसार अंग्रेजी अक्षरसँग जोडा मिलाइएको कारण, यो किबोर्ड जो कोहीले पनि सजिलै चलाउन सक्छन् ।

k — क
ka — का
ki — कि
kI — की
ku — कु
kU — कू
ke — के
kE — कै
ko — को
kw — कौ
kM — कं

आकार, उकार, इकार आदि लेख्नको लागि पनि नेपाली अक्षरको बनौट अनुसार अंग्रेजीसँग मिल्दोजुल्दो अक्षर टाइप गरेर लेख्न सकिन्छ । बुझ्नुपर्ने कुरा के हो भने, रोमनाइज्ड लेआउटमा, ‘स्पेलिङ’ लेख्ने होइन । रोमनाइज्ड लेआउटमा नेपाली अक्षरको बनौट अनुसार मिल्दोजुल्दो अंग्रेजी अक्षर टाइप गर्ने हो । यसले गर्दा नेपाली आफूले चाहे जसरी शुद्धसँग लेख्न सकिन्छ । ह्रस्व तथा दीर्घको लागि shift + अक्षर ले काम गर्छ ।

अनि आधि/काटिएको/जोडिएको अक्षर लेख्नको लागि ‘/’ संकेत प्रयोग गरिन्छ ।

js/to — जस्तो
Akarpos/t — आकारपोस्ट
b/lg — ब्लग

केही अक्षरहरु भने किबोर्डमा भेट्न सकिन्न । ती अक्षरहरुको लागि दुईवटा अक्षर जोडेर लेख्नुपर्ने हुन्छ, तर ती अक्षरहरु पनि बनोटको आधारमा लेखिने भएकोले लेख्ने बानी भएपछि एकदमै सजिलो लाग्छ ।

क्ष = क + ् + ष
त्र = त + ् + र
ज्ञ = ज + ् + ञ
त्त = त + ् + त
द्ध = द + ् + ध
श्र = श + ् + र
द्य = द + ् + य

हिजोआज आएका प्राय: सबै अपरेटिङ सिस्टममा (विन्डोज तथा लिनक्सका भर्सनहरु) पहिले नै मपुपु लेआउटमा आधारित नेपाली युनिकोड किबोर्ड समावेश गरिएको छ, प्रयोगकर्ताले कम्प्युटरको भाषा तथा किबोर्ड सेटिङमा गएर नेपाली युनिकोड (ट्रेडिसनल वा रोमनाइज्ड) छान्नु मात्र पर्छ (विन्डोज एक्सपी तथा विन्डोज सेभेनको लागि नेपाली युनिकोड रोमनाइज्ड राख्ने तरिका पहिले नै ब्लगमा उल्लेख गरेको छु)।

मोबाइलका लागि, हाम्रो पात्रोले निर्माण गरेको, नेपाली किबोर्ड देखि गुगलले निर्माण गरेको गुगल किबोर्डसम्ममा मपुपुको लेआउटमा आधारित नेपाली युनिकोड रोमनाइज्ड र ट्रेडिसनल किबोर्ड समावेश गरिएको छ ।

मोबाइलका लागि बनाइएका किबोर्डहरुमा पनि मपुपुले विकसित गरेको रोमनाइज्ड किबोर्ड लेआउट समावेश गरिएका कारण, कम्प्युटर होस् वा मोबाइल सबैतिर एकै किसिमले लेख्न सकिन्छ ।

नेपाली रोमनाइज्ड युनिकोड किबोर्ड लेआउट राख्नुस्, खरर नेपाली टाइप गर्नुस् । तपाईको कम्प्युटरमा पहिले नै रोमनाइज्ड लेआउट (भाषा तथा सेटिङमा गएर किबोर्ड हेर्नुस्) समावेश छैन भने मपुपुको साइटबाट डाउनलोड गरेर इन्स्टल गर्नसक्नुहुन्छ ।

पहिलो पटक आकार पोष्टमा प्रकाशित!

--

--